अब त ठूला भयौ है ?
हो, ठूला भयौँ होला
दिनमा १२ घण्टा खटिएर,
पसिनाले नुहाएर,
निद्रा बेचेर, पसिना साटेर
शायद त्यही भएर “ठूला” भयौँ होला १
तर तिमीले के देख्यौ
हाम्रो स्याउ जस्तो हात,
हाम्रो सेल्फीको मुस्कान,
र त्यसैमा बनायौ निर्णय
“अब त बोल्दैन, पैसा कमायो, घमण्ड आयो”
सुन ….
मोबाइल चलाउने त समय भेट्दिन,
फोन गर्न त घाँटी र मन दुबै थाक्छ।
बेलुका निन्द्रा होइन, पीडा अँगालेर सुत्छु।
यहाँ कसैले ‘तिमी’ भनेर बोलाउँदैन,
नाम छैन ….नम्बर छ,
भावना छैन ….तलबको हिसाब छ।
र तिमीरु…
देशमै बसेर हाम्रो दु:खलाइ तौलिन्छौ,
“अब त पैसा आयो, रुक्दैन, सम्झिँदैन‘” भन्दै।
तिमीलाई थाहा छैन ?
हामी पैसा मात्र पठाउँदैनौं,
बचपन, सपना, र जिन्दगी पनि सँगै पोको पारेर पठाउँछौं।
हामी बदलिएका होइनौँ,
बदलिए त तिमीहरू ….
जो हाम्रो मौनतालाई घमण्ड देख्छौ,
र हाम्रो रुनुलाई ‘रिमोट लाइफस्टाइल’ सम्झन्छौ।
“ठूला भयौँ ‘’ होइन साथी,
बस् बाँचेका छौँ
तिमीहरूको व्यंग्य झेलेर,
र परदेशीको मरुभूमिमा लास बन्न नपरोस् भनेर।
उहि – सिजन लो तामाङ (ऋतु)









