तिप्लिङ न्यूज
मिति २०७६  असार १६
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जुगल गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा ठुलो समुहमा सलह किरा भेटिएको छ । जुगल गाउपालिका भित्रको ६ नम्बर वडा हाप्रामा निकै ठुलो समुहमा सलह किरा देखिएको स्थानिय शिक्षक दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।

सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन् । विभिन्न क्षेत्रमा सलह प्रवेश गरिसकेको र केही स्थानमा भने क्षति पुर्याउन थालेको गाउपालिका उपाध्यक्ष शृजना लामाले जानकारी दिनुभयो । मकै बालीमा क्षति पुर्याएको सलह बन जङ्गलमा पनि बाक्लो मात्रामा रहेका छन् । बनको विशेषगरी चिलाउनेको बोट तथा बाँसको झ्याङ्गमा पनि यो कीरा देखिएको छ । यो किरा एक स्थानमा करिब २ देखि ३ दिन रहने र त्यस क्षेत्रको बालि खाएर सकिसकेपछि अन्यत्र स्थानन्तरण हुने गर्दछ ।

जुगल गाउँपालिकाले समस्या समाधानका लागि सतर्क रहन किसानहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सतर्कता अपनाउन र त्यसको निराकरणका विभिन्न उपाय अपनाउन आग्रह गरेको हो । खेतबारीमा सलह बस्न नदिन पाकेको वा टिप्न मिल्ने बालीहरुलाई भित्र्याउने र तत्काल बजार लगिहाल्न किसानलाई सुझाव दिएको छ ।

सलहले हरियो बालीको पात खाएपछि डाँठ र हाँगासमेत सखाप पार्ने क्षमता राख्दछ ।
अहिले धानको बीउ खान सक्ने सम्भावना भएकाले धानको ब्याडलाई सलहले भेटेमा सखाप पार्ने हुँदा धानको बिउँ जोगाउन झुलको प्रयोग गर्न भन्दै तितेपाती निमको झोलको प्रयोग, धुँवा लगाउने, भाँडाकुँडा ठटाउने जस्ता विधि पनि निकै प्रभावकारी देखिने बताइएको छ ।
सलहको वयस्कले लामो दुरी उड्न सक्ने हुँदा यसले हरिया बाली सबै सखाप पार्ने हुनसक्छ । तर नेपालमा सानो झुण्डमा सलह भित्रेकाले ठूलो क्षति हुन नसक्ने विज्ञहरुले पनि बताएका छन् । मरुभूमिमा पाइने सलहको वयष्क पोथीले एकपल्टमा ९५ देखि १५८ को संखयामा अण्डा पार्न सक्छ ।|