तिप्लिङ न्यूज
मिति २०७७ असार ५
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा १४ ठुलोसिरुवारि डडुवाका २१ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको चौतारा सांगाचोकगढि नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।

भारतबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलचौरमा बसेका उनको जेठ ३१ गते स्वाब संकलन गरि परीक्षणका लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
उनको आज आएको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको छ । उनी जेठ २७ गते भारतबाट आएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौस्थित क्वारेन्टाइनमा बसेका हुन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भारतबाट फर्केका उनलाई सिधै क्वारेन्टिनमा राखिएको थियो।
क्वारेन्टिनको एक कोठामा उनी अरु दुईजनासँगै बसेका थिए। उनीहरु भारतदेखि सँगै आएका हुन्। क्वारेन्टिनको सम्पर्कमा आउनुअघि तीनै जनाले काठमाडौँको मनोहरामा एक रात बिताएको पाइएको छ। दुईको भने रिपोर्ट आइनसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

संक्रमितलाई चौतारा अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ।
योसँगै जिल्लामा संक्रमितको संख्या ६ पुगेको छ। तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ। उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन्। मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पछिल्लो संक्रमित युवासहित तीन जना भारतबाट फर्केका हुन्। दुई संक्रमित भने दोलखाबाट आएका थिए। एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अरुको उपचार भइरहेको छ।
पछिल्लो समय भारतबाट ४७ जना भारतबाट जिल्ला फर्केका थिए। भारतबाट फर्केर क्वारेन्टिनमा बसेका ११ जना रिपोर्ट नेगेटिभ आएपछि घर गइसकेका छन्। ३६ जना अझै विभिन्न क्वारेन्टिमा बसिरहेका छन्।