तिप्लिङ न्यूज
मिति २०७६ कार्तिक १६ गते
सिन्धुपाल्चोक

भर्खरै सम्पन्न तामाङ पत्रकार संघ सिन्धुपाल्चोकको पहिलो भेलाले जन्मभूमि पोष्टका प्रधान सम्पादक एवं सन्चालक प्रीतम गोले तामाङलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएका छन् ।

तामाङ विगत ५ वर्ष देखि निरन्तर पत्रकारितामा संलग्न हुनुहुन्छ । उहाँको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति छनौट गर्दै जिल्ला भेला सम्पन्न भएको हो ।

समितिको उपाध्यक्षमा अश्मि स्याङ्तान तामाङ, सचिव कार्शङ तामाङ, सहसचिव सुजन पाख्रीन तामाङ, कोषाध्यक्ष सन्जय तामाङ र सदस्यहरुमा आश्मान लोप्चन तामाङ, विपना तामाङ, फुलमान तामाङ, प्रकृति थिङ तामाङ, नुमा पाख्रीन र सिमा तामाङ चयन गरेको छ ।

भेलाबाट अध्यक्षको नेतृत्व सम्हाले लगतै तामाङले आफ्नो २ वर्षे कार्यकाल भित्र जिल्लाका तामाङ पत्रकारहरुलाई एकताबद्ध बनाउन र विभिन्न अभिमुखिकरण तालिम सन्चालन गरि पत्रकारिता सम्बन्धि वृद्धिबिकास गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै तामाङ समाजका राजनितिक, सामाजिक अनि व्यावसायिक क्षेत्रमा नेतृत्व गरिरहनुभएका व्यक्तित्वहरु, संघसंस्थाहरु संग आवश्यक समन्वय गरि पत्रकारितामा आउन चाहेका र गरिरहेका सबैलाई हौसला पुग्ने कार्यक्रम गर्न विशेष पहल थाल्ने पनि उहाँले जानकारी दिनुभयो ।

“अग्रज पत्रकारहरुको सरसल्लाहमा र समकालीन पत्रकार मित्रहरुसंग आवश्यक छलफल गरेर मात्रै आफू अघि बढ्नेछु” तामाङले सुनाए ।

सो भेलालाई सम्पन्न बनाउन केन्द्रीय महासचिव बुद्ध योन्जन र केन्द्रीय सदस्य नेत्र तामाङको विशेष उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्नु हुँदै महासचिव योन्जनले तामाङहरुको वास्तविक समचार अझै बाहिर आउन नसकेको बताउनुभयो ।

अबका तामाङ पत्रकारहरुले आफ्नै समाजका धेरै त्यस्ता लुकेर रहेका विषयबस्तुहरुमा केन्द्रित भएर मिडियाको माध्यमबाट बाहिरा ल्याउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथीका रुपमा उपस्थित योञ्जनले २०६१ सालमा तामाङ पत्रकार संघको गठन भए पनि सिन्धुपाल्चोक जिल्लामा भने पहिलो पटक संघ गठन भएको र यो सँगै १९ जिल्लामा शाखा गठन भएको प्रष्ट पार्नुभयो ।

त्यस्तै तामाङ पत्रकारहरुले पत्रकारीतालाई जागिरको रुपमा मात्रै हेर्ने गरेकोले तामाङ समुदायको बारेमा वकालत हुन नसकेको पनि लामाले बताउनुभयो ।

यहि आउँदो मंसिर ३० सम्ममा संघको केन्द्रिय महाधिवेशन सम्पन्न हुने पनि योन्जनले बताउनुभयो ।

भिडियो पनि हेर्नुस्