तिप्लिङ न्यूज
मिति २०७८ साउन २६ गते
काठमाण्डौं

नृत्य निर्देशक संघ नेपालले आफ्नो पाँचौं स्थापना दिवस बधाई तथा सम्मान कार्यक्रम गरी मनाएको छ ।
काठमाण्डौको सांस्कृतिक संस्थान(राष्ट्रिय नाँचघर)मा मंगलबार स्थापना दिवस मनाईएको हो । दिवसको अवसरमा नृत्य गुरुआमा बेटी बज्राचार्यद्वारा ‘पृथ्वी वर्ष उत्कृष्ठ कथ्थक नृत्यकार सम्मान कोष’ स्थापना गरिएको छ । १ लाख १ हजार १ सय रुपैंयाको सो कोषको रकम बज्राचार्यद्वारा संघलाई हस्तान्तरण गरिएको छ ।

संघको स्थापना दिवसलाई शुभकामना प्रदान गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले सरकारले संस्कृतिको सम्बर्द्धन गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘सरकाको अहिलेको दायित्व भनेको नेपालको संस्कृतिको संरक्षण गर्नु हो’, उनले भने– ‘तर सरकारले यसतर्फ ध्यान दिएको पाईदैन । यो दुःखद् विषय हो ।’ कोरोनाको महामारीको अवस्थामा कलाकारहरुलाई सुरक्षित राख्न सहज रुपमा खोपको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
‘कलाकारले जबसम्म म कलाकार हुँ भनेर गौरवको साथ बाँच्ने अवस्था आउँदैन तबसम्म यस क्षेत्रको विकास हुँदैन’, राईले भने– ‘कलाकारहरुलाई राज्यले संरक्षण गर्नुपर्छ ।’ उनले सांस्कृतिक संस्थान नृत्य निर्देशक संघको हरेक कार्यक्रममा सहाकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा वरिष्ठ नृत्य गुरुआमा बेटी बज्राचार्य, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, संगीत नाट्य प्रतिष्ठानका नृत्य विभाग प्रमुख नमूना शर्मालगायतले नृत्य निर्देशक संघले आफ्ना उद्देश्यलाई पूरा गर्न सकोस् भन्दै शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा संघले चलचित्र कलाकार संघलाई कदरपत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि सांस्कृतिक संस्थानका प्रबन्धक राईले रविन्द्र खड्कालाई कदरपत्र प्रदान गरेका थिए । त्यस्तै काठमाण्डौ र भक्तपूर शाखाको नवनिर्वाचित समितिलाई बधाईपत्र समेत हस्तान्तरण गरिएको थियो ।

संघका अध्यक्ष भुवन दाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघको केन्द्रिय महासचिव नृपध्वज खत्रीले गरेका थिए । संघले स्थापनाको छोटो समयमै नृत्यको विकासमा काम गरेको अध्यक्ष श्रेष्ठले बताए । ५ सय बढी व्यवसायिक नृत्य निर्देशकहरु संस्थामा आबद्ध रहको बताउँदै श्रेष्ठले १३ जिल्ला भन्दा बढीमा शाखा विस्तार गरेको समेत जानकारी दिए । सो समारोहमा नृत्य निर्देशक संघ नेपाल काठमाण्डौं शाखाका अध्यक्ष बुद्ध लामा, भक्तपुर शाखाका अध्यक्ष चुडामणी फुयाल, ललितपुर शाखाका प्रतिनिधि रकला संस्कृतिको क्षेत्रमा काम गर्ने व्यक्ति व्यक्तित्को उल्लेख्य उपस्थिति थियो ।