तिप्लिङ न्यूज
सिन्धुपाल्चोक

अझैसम्म सडक, बिजुली र राज्यको विकास योजना पुग्न नसकेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको दिपु, सानो दिपु, तेगा, तेम्बाथानमा आउजाउ गर्न तुइन संचालनमा ल्याइएको छ ।

असार १ गते नेशम खोलामा आएको भीषण बाढीले उक्त गाउँहरु जोड्ने झोलुङ्गे पुल बगाएपछि चार गाउँका झण्डै पाँच सय घरधुरी अहिलेसम्म नाकाबन्दीमा परेका थिए ।

नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा ‘सुबोध’ सोही पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’, बागमती प्रदेश सचिवालय सदस्य सरल सहयात्री लगायतका स्थानीय नेता कार्यकर्ताहरुले अग्रसरतामा स्थानीय जनश्रमदान, चन्दा र सहयोग जुटाएर नेशम खोलामा तुइन हालेका थिए ।

पुल मर्मत गर्न स्थानीय सरकारलाई पटक पटक गरेको आग्रह सुनुवाई नभएपछि स्थानीय जनश्रमदान, चन्दा र सहयोग जुटाएरै तुइन हालेर स्थानीयलाई आउजाउ गर्ने वैकल्पिक माध्यम बनाइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा ‘सुबोध’ले जानकारी दिनुभयो ।

अहिले सो तुइनबाट सयौं स्थानीय आउजाउ गरिरहेका छन् । हिउँदमा समेत नेशम खोला तर्न सकिन्न । वर्षामा उक्त खोला भीषण हुने गर्दछ । झोलुंगे पुल बगाएपछि थुनिएका गाउँलेलाई वैकल्पिक माध्यमका रुपमा आउजाउ गर्न तुइन हालिएको नेता सुबोधले बताउनु भएको छ ।

पैदल यात्राबाट दिगु, सानो दिगु, तेम्बाथान गाउँ पुग्न जलबिरे बजारबाट दश घण्टा भन्दा बढी लाग्ने गर्छ । उक्त गाउँमा अहिले सम्म सडक, विद्युत पुगेको छैन । स्वास्थ्य संस्था, विद्यालय पुग्न पाँच घण्टा भन्दा बढी समय लगाएर गुम्बाथान आइपुग्नुपर्ने समस्या छ ।

गोरेटो बाटो डरलाग्दो छ । उक्त गाउँ पुग्न भीरैभीर र जङ्गल र पहिरो क्षेत्र पार गर्नुपर्ने बाध्यता छ । सामान्य औषधोपचार र किनमेलका लागि पनि गुम्बाथान आउनुपर्ने वाध्यता रहेको स्थानीय नेता रेशम स्याङबोले जानकारि दिनुभयो । तुइनमार्फत आउजाउ गर्न पाएपछि स्थानीयहरु हर्षित भएका छन् ।