तिप्लिङ न्यूज
मिति २०७७ माघ २६ गते
सिन्धुपाल्चोक

समस्त प्राणीको उद्दार राष्ट्रको कल्याण र विश्वशन्तिको कामना सहित छिमी टासी छिलिङ गुम्बा विकास समिति,नेपाल तामाङ घेदुङ नगर समिति र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सिन्धुपाल्चोकको आयोजनामा ५ दिने बृहत विश्वशान्ति पूजा तथा काग्यूर (त्रिपिटक) पाठ वाचनको पुजा आरम्भ भएको छ ।

छिमी टासी छिलिङ गुम्बा प्राङ्गण चौतारा साँगाचाेकगढी नगरपालिका-११ साँगाचाेक मानेडाँडामा सोमबारदेखि गुरु खेन रिम्पोछे फुर्वादोर्जे पाख्रिनको विशेष आतिथ्यता र चौतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन भएको हो ।

पुजा कार्यक्रमको उद्घघाटनका क्रममा नगर प्रमुख तामाङले सबै जातजातिको धर्म संस्कृतिको सम्मान गरेर सबैको पहिचान दिनु आजको आवश्यकता भएको बताए । सबै धर्मावलम्बीहरुको आ आफ्नै धर्म संस्कृती,भेषभुषा रहेकोले सबैले आफ्नो धर्म सस्कृतिप्रति गर्व गर्नुपर्ने र हराउँदै गएको लोप हुँदै गएकाे आफ्नो संस्कृतिलाई स्थापित गर्नुपर्ने बताए ।

कार्यक्रममा धर्म गुरु खेन रिम्पोछे फुर्वादोर्जे पाख्रिनले सबैको धर्म सस्कृतिको सम्मान गर्नुपर्ने र कसैलाई पनि घृणा भावले हेर्न नहुने बताए । उनले भने “कुनै पनि धर्म ठुलो सानो हुँदैन । सबै धर्म समान हुन् । कुन धर्म मान्ने भन्ने आफ्नो इच्छा भएकोले मानिसले आफ्नो इच्छाअनुसार धर्म मान्न पाउनुपर्ने र कसैलाई पनि जवर्जस्ती धर्म परिवर्तन गराउन मिल्दैन ।”

हिंसाबाट मुक्ति,दैविक शक्तिको पुजा, दैविक प्रकोपबाट जोगाउन र सिन्धुबासीको सुख समृद्धिका लागि भन्दै महापुजाको आयोजना गरिएको छिमी टासी छिलिङ गुम्बाकोे प्रमुख लामा तथा कङग्यूर (त्रिपिटक ग्रन्थ) महापुजा व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले बताए ।

३० गते बिहान सम्म पुजा चल्ने र ३० गते नै भब्य सोनाम ल्होछारको आयोजना गरिएकोले ल्होछार मनाइएसगै कार्यक्रम सम्पन्न हुने समितिका सचिव चक्रबहादुर तामाङले बताए ।

३० गतेको ल्होछार कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू गायिका जितु लोप्चन, गायक अनिश योन्जन , गायक प्रकाश तामाङ तितुङ, गायक आस्मान लोप्चन , गायिका रोस्ना लुङबा र गायक तथा संचारकर्मि प्रितम तामाङ गोलेको विशेष सांगीतिक प्रस्तुति रहने छ ।