तिप्लिङ न्यूज
मिति २०७७ कार्तिक २६
काठमाडौं

छविलाल बम्जनको प्रस्तुतिमा तामाङ सेलो ‘मायाको दुर्बिन’ औपचारिक रुपमा मंगलबार सार्वजनिक गरिएको छ । राजधानीको स्वयम्भूस्थित तामाङ कुदाप मौलिक रेष्टुरेन्टमा आयोजित औपचारिक कार्यक्रमकाबीच बागमती प्रदेश सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको बाहुलिबाट यो सेलो लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि बाँनियाले ‘मायाको दुर्बिन’ गीतले मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने बताउँदै सम्पूर्ण टिमलाई बधाई दिनुभयो । उहाँले आदिवासी संस्कार परम्परा जीवन्त राख्न छविलाल बम्जन,फूलकुमार बम्जन, शसिकला मोक्तान लगायतले गर्नुभएको प्रयासको प्रशंसा गर्नुभयो ।

विशिष्ट अतिथि गायक रोज मोक्तानले तामाङ गीतमा हराउँदै गएको मौलिकपन ‘मायाको दुर्बिन’ मा भेटिएको भन्दै फूलकुमार बम्जनको सिर्जना कर्मप्रति खुसी व्यक्त गर्नुभयो ।

यस गीतका सर्जक, संगीतकार तथा गायक बम्जनले मकवानपुर राईगाउँ तथा बागमती क्षेत्रसँग पुरानो साङ्गितिक साइनो सम्बन्ध रहेकोले यसको सिर्जनामा सहज महसुस गरिएको उल्लेख गर्नुभयो । बागमती क्यान खोला र राइगाउँको सभ्यता संस्कृतिको चिनारी स्वरुप यो गीत पस्किएको उहाँको भनाई छ । ‌

कार्यक्रममा नेकपा युवा नेता हिराबहादुर लामा र पर्यटन व्यवसायी जगत लामाले आजको जमानामा आफ्नो पन जोगाउन गीत संगीत शसक्त माध्यम रहेको दावी गर्नुभयो । ठाउँ तथा स्थानीय जीवनको पहिचान प्रबर्द्धनमा यो गीतको महत्वपूर्ण भूमिका रहने उहाँहरुको विश्वास छ ।

गायिका शसिकला मोक्तानले यो सेलो सुनेर हेरेर साथ दिन दर्शक स्रोतामा अनुरोध गर्नुभयो । गीत तथा भिडियोका निर्माता छबिलाल बम्जनले आफ्नो प्रयासमा साथ दिने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक ङेसुर निर्देशित गीतको भिडियोमा निरज लामाखोर र सुनैना तामाङलाई अभिनय र नृत्य प्रस्तुत गरिएकोमा स्वयं लामाखोरकै कोरियोग्राफी रहेको छ भने बिक्रम मोक्तानले छायांकन गर्नुभएको हो ।

भिडियो हेर्नुहोस