तिप्लिङ न्यूज
मिति २०७७ असार २५
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ३ ठाउँमा गएको बाढी र पहिरोमा परी २२ जना बेपत्ता भएका छन् भने, दुई जनाको मृत्यु भएको छ । ७ जना घाईते मध्य ४ जनालाई उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याईएको छ । आज दिनभरी नै प्रतिकुल मौसमका कारण घाईतेहरुको उद्धार वेपत्ताहरुको खोजीमा समस्या भएको थियो ।

बाढी र पहिरोको कारण विभिन्न ठाउँमा गरी ३६ वटा घर बगेका छन् । पहिरोले खागदलको पक्की पुल बगाएउनुका साथै अरनिको राजमार्ग पनि भत्काएकोले जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । पहिराका कारण विस्थापित भएकाहरु अहिले समस्यामा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

बाढीले वितण्ड मच्चाएपछि विहानै देखि उद्धारका लागि प्रयास भएको थियो । तर प्रतिकुल मौसमका कारण हेलिकोप्टर जान सकेको थिएन भने, बाढीले बगाएका कारण सडक मार्ग अबरुद्ध बन्यो । दिउँसो २ बजेतिर घटनास्थल पुग्नुभएका सभामुख अग्नि प्रसाद सापकोटाले हरहालतमा घाईतेका उपचार र वेपत्ताको खोजि गरिने बताउनुभयो ।

बाढीका कारण विस्थापित भएकाहरुलाई ब्यवस्थापन गरिन थालिएको छ । खोज, उद्धार, राहत लगायतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, रेडक्रस तथा स्थानीयबासी सक्रिय छन् ।

भिडियो