तिप्लिङ संवाददाता,

कात्तिक १३,२०७५

तातोपानीः नेपाल र चिनीयाँ सरकारको प्रमुख व्यापारीक तातोपानी नाका भूकम्पपछि बन्द छ । जुरे पहिरोले आशिंक असर पारेको नाका सञ्चालनमा भूकम्पले पूर्ण रुपमा ठप्प पार्यो । तर, अझै तातोपानी नाका खुल्नेमा संका उत्तपन्न भएको छ ।
नाका सञ्चालनमा नआउँदा दुबै देशको अर्थतन्त्रमा ठुलो नोक्सानी परेको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि चीनको सीमासम्मको सडक क्षतबिक्षत भएको हुदाँ नाका सञ्चालनमा थप समस्या परेको हो ।

२०७२ सालको भूकम्पपछि बन्द तातोपानी नाका खुलाउने स्थानीय प्रयत्नलाई सडककै कारण असम्भव भएको छ । राजमार्गको बाह्रबिसे लिपिङ खण्डको २६ किलोमिटरमा दर्जन बढी ठाउँमा पहिरो गएको छ । सडकमा पुरै पहिरो गएकाले नाका सञ्चालनमा कठिनाई भएको छ ।
दशैअघि तातोपानी नाकाको निरिक्षण गर्न आइपुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नाका सञ्चालन छिट्टै हुने आश्वासन दिएका थिए । बाह्रबिसेदेखि तातोपानीसम्मको सडक निर्माणमा दुई देश सहमत उनले जनाए । नाका सञ्चालनको पहिलो समस्या सडक सञ्जाल भएकाले सडक निर्माण पश्चात् छिट्टै नाका खुल्ने उनको भनाई छ ।
नाका सञ्चालनमा दुवै पक्ष सकारात्मक भएकाले नाका खुल्नेमा स्थानीयवासिलाइ ढुक्क रहन आग्रह गरे । चिनियाँ पक्षसँगको भेटमा नाकाको बिषयमा चिनीयाँ पक्ष गम्भीर भएको उनले जनाए । ‘सरकारले तातोपानी नाको सञ्चालनमा ल्याउन धेरै पहल गरेको छ । त्यसैले तातोपानी नाका सञ्चालन हुन्छ’pahiro

उनले भने ।
चिनियाँ पक्षले तीन वर्षदेखि रोकिएको तातोपानी स्थित लार्चामा रहेको सुक्खा बन्दरगाह निर्माणको कामलाई तिव्रता दिएपछि नाका सञ्चालन हुनेमा स्थानीयका आशा जागेको छ ।

 

तातोपानी नाकालाई प्रमुख चुनावी एजेण्डा बनाएका सांसद अग्निप्रसाद सापकोटाले नाका सञ्चालन छिट्टै हुने बताए । खासाबाट बाटो सुधारको, बाटो निर्माणको काम तीव्र गतिमा भइरहेकाले नाका सञ्चालन हुने जनाए । बाह्रबिसेदेखि तातोपानी सम्मको सडक खण्डको कामको लागि पनि मन्त्रालयमा सम्झौता भइसकेको उनको भनाई छ । चुनाव जितेपछि जिल्ला समन्वय समितीले गरेको शुभकामना तथा बधाई कार्यक्रममा तीन महिनाभित्र नाका सञ्चालन आउने बताएका थिए ।
सीमाक्षेत्रको कोदारीमा सडक तलबाट भोटेकोशीले कटान गर्ने र माथिबाट पहिरोले पुर्ने गर्दा नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीय तहको बजेट अपुग हुने भएकाले पटक पटक सरकारका विभिन्न मन्त्रालयमा आग्रह गर्दा पनि सडक निर्माणमा ध्यान नदिएको सिमा क्षेत्र समेटिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।
‘नाका सञ्चालनको प्रमुख जड सडक हो । त्यसैले सडक निर्माणमा सरकारले ध्यान दिनुपर्छ’ अध्यक्ष पौडेलले भने–‘नदीबाटै जग उठाएर सडक निर्माण गर्नुपर्ने अवस्था छ । गाउँपालिकाको स्रोतबाट सडक निर्माण गर्नै सकिंदैन ।’
नाका सञ्चालनमा नआउँदा यहाँका सयौँ व्यवसायी विस्थापित भएको उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले जनाए । भूकम्पपछि प्रत्येक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री, अर्थ मन्त्री, परराष्ट्र र भौतिक योजना मन्त्रीलाई संघको अगुवाई ध्यानाकर्षण गराउँदा समेत सरकारी पक्षलेनै नाकालाई पपहेलना गरेको उनको भनाई छ ।
‘नाका सञ्चालनमा ल्याउन सबै सरकारले आश्वासन मात्र दिने गरेको जनाए । चुनावमा तातोपानी नाका सञ्चालन र सडक निर्माण पहिलो एजेन्डा बनाएर भोट मागेका नेताले पनि नाकालाई आफ्नो विकासे प्राथमिकताको योजनामा नराखेको उनले आरोप लगाए ।
पटक पटक गरेका उच्चस्तरीय चिनियाँ टोलीले नेपाल तर्फको सडक सञ्चालनमा आए नाका सञ्चालनमा आउन सक्ने जनाएको थियो । टोलीले नाका सञ्चालन गर्न नेपालतर्फकै सडक बाधक भएको निर्यौल निकालेको थियो । तर, पटक पटकको निरिक्षण र निष्र्कषले मात्रै नाका सञ्चालनमा नआउँने पक्का छ ।
चीनबाट स्थलमार्ग हुँदै सामग्री ढुवानी हुने मुख्य व्यापारिक मार्ग तातोपानी सञ्चालनमा नआउँदा नेपाली व्यापारीहरूले रसुवाको केरूङ तथा लामो समुद्री मार्ग हुँदै भारतको कोलकाताबाट सामान ढुवानी गर्न बाध्य भएको छन् । भूकम्पले संरचनामा क्षति पुर्याएको भन्दै बन्द रहेको तातोपानी नाका २०७३ सालमा आएको भोटेकोशी बाढीले लिपिङदेखि तातोपानीसम्मको चार किलोमिटर सडक ठाउँ ठाउँमा कटान गरेपछि यातायात सञ्चालन हुन सकेको छैन ।
भूकम्पपछि मुस्किलले जोडेको ट्रयाक पनि बाढीले क्षतबिक्षत बनाएपछि दुई वर्षदेखि सीमाक्षेत्रमा यातायातका साधन आउन सकेको छैन । बाह्रबिसेदेखि तातोपानीसम्म जलविद्युत आयोजनाले पटक पटक सडकको पहिरो पन्छाउँदै बेलाबेलामा यातायात सञ्चालन गरेपनि तातोपानी लिपिङ खण्डमा कसैको ध्यान पुगेको छैन ।
तातोपानी क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको काम शुरू भए पनि उक्त व्यापारिक नाका खोल्ने विषयमा चिनियाँ अधिकारीहरूले औपचारिक जानकारी गराइ नसकेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जनाइन् ।
चीनबाट सामग्री ढुवानी गर्ने मुख्य नाका भएपनि भूकम्पले निकै क्षति पुगेपछि चिनियाँ पक्षले आफ्नो ध्यान रसुवाको केरूङ नाकातर्फ केन्द्रित गरेको छ । भूकम्पको जोखिम भन्दै तिब्बतपट्टिको खासा बजारको बस्ती समेत चीनले हटाएपछि नाका संञ्चालन हुनेमा दुविधा कायमै छ ।