कात्तिक १२

चौतारा, सिन्धुपाल्चोक जिल्लाको अधिकांश खोलाकिनारामा देखिने पानीघट्ट अहिले देखिनै मुस्कील पर्ने भएको छ । प्रविधिको विकास भएसँगै पानीघट्ट संकटमा परेका हो ।
आधुनिक मेशिनहरुको लोकप्रियतासँगै पानीघट्टहरु संकटमा परेको हो । पछिल्लो समयमा आधुनीक प्रविधियुक्त मेसीघट्ट आएपछि पानीघट्ट संकटमा परेको हो ।

कुनैबेला बगरैभरि घट्टै–घट्टहरु देखिने गरेको यहाँ आधुनिक मेशिनको वढ्दो प्रयोगले पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका हुन् । जलवीरे नदी किनारामा २० भन्दा वढि ठाउँमा रहेका घट्टहरु अहिले मुस्किलले ४ ठाउँमा मात्र छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका २ बतासे गाउँकी ६० वर्षिय मैना माझि पुराना दिनहरु यसरी सम्झदै थिइन् । सोह्र वर्षको उमेर देखि जलवीरेमा घट्ट व्यवसाय संचालन गर्दै आएकी उनी नदी किनारामा घट्ट लोप भएकोमा ज्यादै चिन्तित छन् । नहुन् पनि किन..? नदीमा घट्ट चलाउनु, डुङ्गा खियाउनु, माछा मार्नु नदी आसपासका माझि तथा दनुवारहरुको पुख्र्यौली पेशा हो ।
कुनै पनि पेशा अहिले उनीहरुका लागि सुरक्षित त भएनन् नै भावी पुस्ताका लागि पनि एकादेशका कथा जस्तो भएपछि उनी जस्ता सयौं व्यक्तिहरु यतिखेर चिन्तित् भएका हुन् । अहिले संचालनमा रहेका केहि घट्टहरुबाट वार्षीक एक लाख जती कमाई हुने मैनाको भनाई छ ।
पहिले–पहिले आधुनिक मेशिनहरुको प्रयोग थिएन । यीनै घट्टहरु प्रयोगमा आउँथें । करिव एक दशक अगाडि देखि गाउँहरुमा आधुनिक सुविधा सम्पन्न मेशिनहरु अत्याधिक मात्रामा प्रयोगमा आउन थालेपछि घट्टहरु लोप भएको जलवीरेका घट्ट व्यवसायी शंकर माझिको भनाई छ ।
पिसानीका लागि केहि समय वढी लागे पनि पानीबाट संचालन गरिने भएकाले पेट्रोलियम पद्धार्थको बचाउ गर्न र सहुलियतका लागि पनि पानीघट्ट भरपर्दो हुने भएपनि अहिले विस्थापित हुन थालेकोमा उनी पनि चिन्तित् देखिएका छन् । संरक्षण गर्न सके आफ्नो पेशाको जगेर्ना हुन सक्ने झिनो आशा बोकेका उनी आफूहरुका कुनै पनि व्यवसायहरुको अस्तित्व हराउन थालेको गुनासो गर्छन् ।

उनका अनुशार परम्परागत पेशाबाट जीविका चलाउन नसकिने भएपछि धेरैजसो युवाहरु अहिले वैकल्पिक पेशातिर लागेका छन् । आफ्नो कुनैपनि जमिन नभएकाहरु खेतीपाती र पुरानो व्यवसायको वास्ता नगरि विदेश लागेका छन् भने केहि रोजगारीका लागि राजधानी लगायतका शहरहरुमा पुगेका छन् । पुराना सबै खाले व्यवसायहरु विस्थापित हुने निश्चित भएपछि करिव १ हजार ५ सय भन्दा वढी माझि तथा दनुवारहरुको रोजगारी गुमेको स्थानियहरुको भनाई छ ।