तिप्लिङ न्यूज , 

मिति २०७५ अशोज ९ काठमाडौं 

नेपाल तामाङ कालाकार संघले आफ्नो ११ औं वार्षिक उत्सवको अवसरमा ‘एउटै तिथि मिति एउटै ठाउमा एउटै ल्होछार’को सन्देशसहित राजधानीमा बिचार मन्थन कार्यक्रम गरेको छ ।

कार्यक्रममा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, पूर्वराजदूत कमानसिंह तामाङ, बौद्ध महासंघका अध्यक्ष एवं भाषाविद् अजितमान तामाङ, तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष वीरबहादुर तामाङ लगायतले एउटै ल्होछार मानेर अघि बढ्नुपर्ने बताए ।

धर्मगुरु सोनाम ग्युर्मी तामाङले अहिलेसम्म मान्दै आएको परम्परा र चन्द्र पात्रोको आधारमा सोनाम ल्होछार मनाउनुपर्ने तर्क राखे भने अर्का धर्मगुरु खेन रेन्पोछे गेसे ङिमा तामाङले ग्याल्बो ल्होछारको पक्षमा बोले । ‘तर दुबै ल्होछारलाई मिलाएर मनाउन सकिन्छ’, गेसे ङिमाले भने, ‘त्यस निम्ति सबैजना बसेर छलफल गरौं ।’दुईवटा ल्होछारमा बुद्धिजीवि र लामागुरुहरु विभाजित हुँदा ल्होछारको आधिकारिकतामाथि अन्योलता छाएको कारण बहसलाई अघि सारिएको संघका अध्यक्ष एवं गायक संजीव वाइबाले जनाए ।

कार्यक्रममा साहित्यकार खोजराज गोले, फूलमान वल, गायक विश्व दोङ, विशाल काल्तान लगायतले एउटै ल्होछारको पक्षमा विचार राखेका थिए ।