कविता – “प्रश्न”

ठिङ्ग उभिएका
पहाडहरु
अल्छी मान्दै बगेका नदिहरु
किन झर्दैन कबिता झरना बाट
खिन्न मुद्रा मा किन हिमाल?

टर्रो किन?
बा को पसिना ले भिजेको माटो
चिसो किन छ?
आमा को काख…..
ए गुराँस,
भन त कस्को रगत ले पोतियौ आज?

बीभत्स घटना का प्रत्यक्षदर्शी
ए पहाड
किन मुकदर्शक बस्छौ
किन बगाउदैनौ ए नदि
इतिहास बोकेका पुराना अतीत
किन झार्दैनौ मनमोहक कबिता
भन ए झरना
बुद्ध मुस्कान किन हाँस्दैनौ
ए सेता हिमाल…!

छोरो बिदेश बाट
रातो बाकसमा फर्कदा
लक्का जवान बगरमा छप्किदा
छोरीचेली बीभत्स बलात्कृत हुँदा
कलिलो पेट मा
भोक को क्रुर लात बज्रँदा

साँची,यी र यस्तै
कोकोहोलो भित्र
मुर्दा शान्तिमा समाधिस्त मेरो देश
अँ किन हास्दैन?

अचेल देश सङ्ग देश पढिरहदा
मलाइ यस्तै लाग्छ,
यिनै
पहाड
नदि
झरना
बा को अमिलो पसिना
आमा को चिसो काख
बलात्कृत छोरीको क्रन्दन
छोराको आलो रगत
मेरो भागमा परेको भुगोल

हे इन्द्रेणी……….
मेरो श्यामश्वेत आकाश माथी बसेर
रंगिन हाँसो किन हाँस्छस????
किन??????????

हेमन प्रधान (भेेेट्रान कवि)

सिन्धुपाल्चोक चौतारा